नियम १२
विवरण संशोधन

१२. विवरण संशोधनः

(१) ऐन वा नियमहरू बमोजिम पहिलो पटक कर अड्डामा पेश भएको शहरी क्षेत्रको घर जग्गाको विवरण सच्याउन कुनै करदाताले मागेमा कर निर्धारण आदेश भइसकेकोमा ऐन बमोजिम लाग्ने करको १० प्रतिशत बढी कर त्यस्तो करदाताबाट असूल गर्ने गरी कर अधिकृतले विवरण सच्याउन दिन सक्नेछ । यसरी विवरण सच्याउन दिंदा अर्को रीतपूर्वकको विवरण भरी पेश गर्नु गराउनु पर्छ । केवल पत्र पठाएर संशोधन गरेकोमा कुनै मान्यता दिइने छैन ।

(२) उपनियम (१) बमोजिम विवरण सच्याउन दिए बापतमा लागेको थप कर घर जग्गा कर निर्धारण गर्दा निर्धारण आदेशमा तोकिएको हुनु पर्छ र यो थप कर घर जग्गाको करको रकमसाथ एकमुष्ट दाखिल गर्नु र गर्न लगाउनु पर्छ ।

(३) ऐन बमोजिमको विवरणसम्म प्राप्त भई त्यसमा कर निर्धारण भइनसकेमा कुनै सम्बन्धित व्यक्तिले सच्याउन मागेमा यस्तोमा आवश्यक परे जाँच्न लगाई कर अधिकृतले उपनियम (१) बमोजिम कुनै थप कर नलगाई विवरण संशोधन गर्न दिन सक्नेछ ।